कोरोना संक्रमणबाट ४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ सय ११ पुग्यो

कोरोना संक्रमणबाट ४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ सय ११ पुग्यो
Spread the love

 

काठमाडौं,  भदौ २ (ई-रैवार)

कोरोना संक्रमणबाट ३ पुरुष र १ महिला गरी चार जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ ।

मृत्यु हुनेमा काठमाडौंको नयाँ बानेश्वरका ९८ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

नयाँ बानेश्वरस्थित घरमा रहँदा कोरोनाको लक्षण देखिएपछि धुलिखेल अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो । पिसिआर पोजेटिभ आएपछि गएको साउन २६ गतेदेखि उनको आइसियुमा उपचार भइरहेको थियो ।

पुरानो घर काभ्रेको धुलिखेल भएकाले परिवारले उनको उपचार धुलिखेलमै गर्ने निर्णय गरेको थियो । प्लाज्मा थेरापी उपचार विधिबाट उपचार गर्ने आफन्तको प्रयास सफल हुन सकेको छैन ।

यस्तै मंगलबार विहान ललितपुरस्थित पाटन अस्पतालमा आज एक जना ३८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रादेशिक अस्पताल भैरहवामा साउन २८ गते कोरोना पुष्टि भएका ती पुरुषको आज विहान पााटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

बुटवलस्थित युनिभर्सल मेडिकल कलेजमा पित्तथैलीको अपरेशन गराएका उनको अपरेशन लगत्तै कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिरामीको अवस्था जटिल भएपछि प्रादेशिक अस्पताल भैरहवाले पाटन अस्पताल रेफर गरेको थियो । पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर २ स्थायी घर भएका उनी जिल्लाका कांग्रेस उपसभापति थिए ।

यस्तै पोखरामा तनहुँकी एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा गएराति मृत्यु भएको छ । तनहुँ व्यास–१ अम्रेनी घर भएकी ५० वर्षीया ती महिलाको पोखरास्थित कास्की सेवा अस्पतालमा मृत्यु भएको हो ।

सुगर, प्रेसर र मुटु र निमोनियाको समस्या रहेकी ती महिलालाई गत साउन २१ गते उपचारका लागि पोखरा लगिएको थियो । तर उनको कोरोना पोजेटिभ रिपोर्ट भने अहिले बिहान मात्रै पुष्टि भएको थियो ।

बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताए । कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी साउन ३२ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए ।

सोमबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । सोमबार नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।