बैतडी, भदौ १ (ई-रैवार)
बैतडीमा छोरी जन्माउने आमालाई ३ हजार ८ सय भत्ता प्रोत्साहन भत्ता वितरण गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिकाले गत आर्थिक वर्षमा छोरी जन्माउने २ सय १३ आमालाई प्रोत्साहन भत्ता वितरण गरेको हो ।
समाजमा छोरा–छोरी बीचको समानता कायम गर्न स्वास्थ्य संस्थामै छोरी जन्माउने आमाहरूलाई १ हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता उपलब्ध गराइएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिएका छन् ।
स्वास्थ्य शाखा प्रमुख नाथका अनुसार स्वास्थ्य संस्थामै छोरी जन्माएका आमा र शिशुको पोषण अवस्था सुधार गर्न प्रोत्साहन भत्ता उपलब्ध गराइएको हो ।
छोरी पनि छोरासमान हुन् भन्ने सन्देश दिन र समाजमा छोरा–छोरी बीचको समानता कायम गर्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।
उपाध्यक्ष कार्कीले लैङ्गिक विभेद कम गर्न र समाजमा छोरा र छोरीप्रति समान दृष्ट्रिकोण तथा चेतनाको विकास गर्न प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताइन् ।
नेपाल सरकारले संस्थागत सुत्केरी भए यातायातवापत दिने २ हजार र चारपटक गर्भ जाँच गराएवापत पाउने ८ सय दिँदै आएकोमा गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाई थप १ हजार प्रोत्साहन भत्ता दिएको हो ।
सबै गरेर छोरी जन्माउने आमाले ३ हजार ८ सय पाउँछन्। छोरा जन्मँदा मात्रै खुशी हुने समाजका लागि गाउँपालिकाले दिएको प्रोत्साहन भत्ताले छोराछोरी बीच हुने भेदभावमा कमी आउने विश्वास गरिएको उपाध्यक्ष कार्कीले बताइन् ।


