काठमाडौँ,साउन २ (ई–रैवार)
नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी सरकारमा सहभागी हुन लागेको हो ।
शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र सांसद रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दिलीपकुमार साहले जानकारी दिएका हुन ।
संसदीय दलका नेता साह महोत्तरी–१ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुन्। माओवादी केन्द्रलाई सरकारमा सहभागि गराउन सत्तारुढ दलकै आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका छन् ।
शुक्रबार आन्तिरक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज कुमार कुशवहाले मुख्यमन्त्री लाल बाबु राउत समक्ष राजीनामा बुझाएका थिए । मुख्यमन्त्री राउतले आज राजनीमा स्वीकृत गरी माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।
साह र कर्णले शनिबार दिउँसो ३ बजे मन्त्री पदमा शपथ लिन लागेको सचेतक साहले बताए। माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको छनोट गरे पनि मन्त्रालयको टुंगो लाग्न सकेको छैन्। सचेतक साहका अनुसार अर्थ वा कृषि मन्त्रालयमध्ये मन्त्रालय पाउने निश्चित छ। ‘हामीले यही मन्त्रालय पाउनुपर्छ भनेर सर्त राखेका छैनौं,’ उनले नागरिकसँग भने, ‘जसपासँग भएको मन्त्रालय पाउने गरी हामी सरकारमा सहभागी हुन लागेका छौं।’
जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्ठ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए । सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो । तर मन्त्रालय बाँडफडमा कुरा नमिलेपछि सरकारमा सहभागी भएको थिएन ।
केन्द्रीय सत्ता समीकरणको प्रभावका कारण माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी हुन पुरानो अडान छाडेको जानकारहरू बताउँछन्।


