चौमाला, असोज १० (ई–रैवार)
कैलालीको गौरीगंगा नगरपालिकामा गत आर्थिक वर्षमा विकास निर्माणका नाममा अनियमितता भएको नेपाली कांग्रेस नगर कार्यसमितिले ठहर गरेको छ । शनिबार चौमालामा पत्रकार सम्मेलनमार्फत् नगरपालिकाभित्र विकास निर्माणका साथै कोरोनाका नाममा अनियमितता गरेको आरोप लगाएको हो ।
शनिबार पत्रकार सम्मेलन गर्दै कांग्रेस नगर कार्यसमितिले विकास निर्माणका नाममा अनियमितता गरेको ठहर गरेको हो । गौरीगंगा नगरपालिकामा असारे विकास गरेर व्यापक अनियमितता गरेको स्थानीय प्रकाश थापाले बताए । उनले भने,‘ग्राभेलदेखि लिएर कोरोनाका नाममा भएको खर्चसम्ममा व्यापक भ्रष्टाचार भएको छ ।

कांग्रेस कार्यसमितिले गरेका अनुगमनका क्रममा व्यापक भ्रष्टाचार भएको ठहर गरेको हो । ‘कल्भर्ट निर्माण र ग्राभेलका नाममा व्यापक भ्रष्टाचार भएको छ,’ कांग्रेस नगर सभापति काँशीराम शर्माले भने, ‘हामीले नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्मका सवै वडामा अनुगमन ग¥यौँ, सबै ठाउँमा कामै नभई भुक्तानी गरिएको देखियो ।’ सबै कमजोरी नगरपालिकाको भएको बताउँदै भने,‘नदी तटबन्धनका नाममा कार्यकर्ता पोस्ने काम भएको छ, यसबाट जनता आजित भएका छन् ।’ उनले गौरीगंगामा आफ्ना कार्यकर्ता पोस्नेबाहेक अन्य काम नभएको बताए ।
यस्तै कैलाली क्षेत्र नम्बर ४ का सभापति दिनेशराज जोशीले गौरीगंगा नगरपालिकामा कार्यपालिका बैठकमै सबैलाई मिलाएर जानुपर्ने नगरप्रमुख भीमबहादुर देउवाले भन्दै आएको बताउँदै उनले भने,‘अहिले गौरीगंगामा व्यापक भ्रष्टाचार मौलाएको छ ।’ बाटोघाटोदेखि लिएर कोरोनाका नाममा करोडौं हिनामिना भएको बताउँदै उनले भने,‘अहिलेसम्म हामीले विकास निर्माणका गतिविधि हेर्दै आएका थियौँ, अब भने कोरोनाका नाममा भएको भ्रष्टाचार बाहिर ल्याउने छौँ ।’



