गोविन्दराज जोशीसहित ३ नेता कांग्रेसबाट निस्कासित

गोविन्दराज जोशीसहित ३ नेता कांग्रेसबाट निस्कासित
Spread the love

 

काठमाडौं, साउन ११  (ई-रैवार)

नेपाली कांग्रेसले निर्वाचनमा पार्टीमाथि अन्तरघात गर्ने तनहुँका नेता गोविन्दराज जोशी र कैलालीका नेता पुष्करनाथ ओझालाई पार्टीबाट निष्कासन गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले शनिबार पूर्वमन्त्री जोशी र पूर्वराज्यमन्त्री ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो ।

जोशीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई र ओझाले नेतृ डा. आरजु राणालाई गत निर्वाचनमा पराजित गर्न भूमिका निर्वाह गरेका थिए ।

यस्तै सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका पार्टी कार्यालय सचिव रामबहादुर बिष्ट पनि कारबाहीमा परेका छन । अनुशासन समितिले उनलाई ३ वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

कांग्रेस अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५–५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो । तर जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उल्लंघन गरेको पाईएकाले पार्टीबाट निष्कासन गर्ने निर्णय भएको समितिले बताएको छ ।

अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो र भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।