धनगढी, साउन १० (ई-रैवार)
पछिल्लो २४ घण्टामा १ सय ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस सँगै कुल १८ हजार ४ सय ८३ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार ५३ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार डोटीमा १३, सुर्खेत र सप्तरीमा ११ र ११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६ र ६ जना र दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४ र ४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३ र ३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २ र २ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा एक र एक जना कोरोना संक्रमित थपिएका छन् ।
सुदूरपश्चिममा आज २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२०९ पुग्यो
सुदूरपश्चिममा थप २४ जनाको कोरोना पुष्टि भएको छ। डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा २०, सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा दुई जना, धनगढी प्रयोगशाला र पाटन अस्पतालमा भएको परीक्षणमा एक र एक जना गरी थप २४ जनामा कोरोना पुष्टि भएको हो ।
डडेल्धुरामा भएको परीक्षणमा डोटीका १३, डडेल्धुराका चार र बैतडीका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । उनका अनुसार पाटन अस्पतालमा भएको परीक्षणमा अछामका एक जनामा पनि संक्रमण पुष्टि भएको छ। यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अछामका थप दुई जनामा संक्रमण पुष्टि भएको डाक्टर गौतमले बताए।
यस्तै धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा सय ६० जनाको कोरोना परीक्षण गरिएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ३ सय ६० जनाको कोरोना परीक्षण गर्दा एक जनामा मात्रै संक्रमण पुष्टि भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १३ का १७ बर्षीय युवकमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
आज २४ जना संक्रमित थपिएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ९ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अछाममा ६ सय ४८, डोटीका ६ सय ५७, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका ५ सय १४, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ७९, बझाङका एक सय ७९ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएका दुई हजार दुई सय ९६ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४०, डोटीका पाँच सय ३५, कञ्चनपुरका चार सय ९८, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ।
कैलालीका एक सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। यस्तै सुदूरपश्चिम प्रदेशका ५६ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार ९ सय बढि घर र स्थानीय तहको क्वारेन्टिनमा छन्।
मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २३, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन र डोटी अस्पतालमा दुई जना गरी ५६ जनाको उपचार भईरहेको छ। प्रदेश सरकारले कोरोना अस्पताल तोकेको सेती प्रादेशिक अस्पतालको आईसोलसन भने विगत पाँच दिनदेखि खाली रहेको छ।


