त्रिपालका भरमा सुदूरपश्चिममा सीमा सुरक्षा

त्रिपालका भरमा सुदूरपश्चिममा सीमा सुरक्षा
Spread the love

धनगढी जेठ २(ई-रैवार)

सुदूरपश्चिमका पाँच जिल्लाका नेपाल-भारत सीमाक्षेत्रमा पहरा दिईरहेको सशस्त्र प्रहरीको हबिगतसंग सरकार  निरपेक्ष छ ।  हावाहुरी र बर्षासँग लड्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले हरमौसम चुनौतिको सामना गरिरहन्छन ।
कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका सीमा नाकामा एक हजार चारसय ४५ जना सशस्त्र प्रहरी खटिएका छन । उनिहरू सबैजसो ठाउँमा त्रिपाल टाँगेर चौविस घण्टा चुनौतिका बाबजुद पहरा दिईरहेका छन् । कैलालीमा नेपाल भारत सीमा क्षेत्रमा सवै भन्दा बढी छ सय ४० जना सशस्त्र तैनाथ छन् भने कञ्चनपुरको सीमा क्षेत्रमा पाँचसय ९४ जना, दार्चुलामा एकसय सात, बैतडीमा ६८ र डडेल्धुरामा ४५ जना सशस्त्र तैनाथ रहेको सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकले जानकारी दिएको छ।
यहाँका ८४ ठाउँमा पोष्ट खडा गरीएका छन ।  कैलालीमा ४२, कञ्चनपुरमा २४, दार्चुलामा ९, बैतडीमा ५ र डडेल्धुरामा ४ स्थानमा पोष्टहरु स्थापना गरिएका सशस्त्र प्रहरी वैद्यनाथ बाहिनी अत्तरीया कैलालीले जनाएको छ । भारतबाट अवैध रुपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बिओपी, पोष्ट र गुल्महरु स्थापना गरिएको हो।
‘निकै समस्या हुँदा पनि सीमामा दिन्रात सशस्त्र प्रहरीले पहरा छाडेको छैन’, सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीर सिंह साहुले भने, ‘सीमामा गरिएको कडाइले भारतबाट आउने क्रम रोकिएको छ ।’ पाँच जिल्लाका सीमा नाकामा खटिएका सशस्त्र प्रहरीले दुई महिनादेखि आफ्नो गणमा छिर्न समेत पाएका छैनन्। सरकारले सीमा नाकामा स्थायी घर नबनाउँदा सशस्त्र प्रहरीले चर्को घाम, हावाहुरी र बर्षाले त्रिपाल समेत उडाउँदा खुल्ला आकाश मुनि बस्न रात काट्न बाध्य भएका छन्।
भारतसँग जोडिएको सीमानामा चौबिसै घण्टा पहरा दिने गरी ३९ वटा सशस्त्र प्रहरीका अस्थायी पोष्टहरु थपिएका छन्। सीमामा अब त्यो संख्या ५४ पुगेको बताइएको छ। सुरक्षाकर्मी तैनाथ हुँद समेत अझै भारतसँग सीमा जोडिएका जिल्लामा कोरोनाको चुनौती रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। उनले भारतको लखिमपुर र खिरी जिल्ला ग्रिन जोनमा परेकाले यहाँ चुनौति रहेको बताए।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक डम्बर बहादुर विष्टले छिमेकी भारतमा समेत कोरोना भाईरसको संक्रमण बढ्दै गएका बेला जोखिम मोलेर नेपाल भित्रिन सक्ने भन्दै सीमा क्षेत्रमा २४ घण्टा नै पहरा दिएको जानकारी दिए। उनले जिल्लाका विभिन्न ठाउँमा अस्थायी पोष्ट तथा गुल्म चेकपोष्ट राखेर छुट्टाछुट्टै टोली परिचालन गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक विष्टले बताए।
भोकै खुला आकाशमुनि भारतीय भूमिमा बसिरहेका उनीहरु पटक पटक गुहार गर्दा पनि सरकारले कुनै चासो नदेखाउदा जवर्जस्ती नेपाल प्रवेशको तयारी रहेकाले सशस्त्रले सुदूरपश्चिमका जिल्लामा राती पनि पहरा दिईरहेका छन्।