‘भ्रष्ट युग’ चलिरहेको छः डा. रावल

‘भ्रष्ट युग’ चलिरहेको छः डा. रावल
Spread the love

डोटी फागुन १६(ई-रैवार)
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले अहिले तीनतहकै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् । नेपाली कांग्रेस डोटीद्वारा शुक्रबार सिलगढीमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले भ्रष्ट युग चलिरहेको छ,’ उनले भने,‘जताततै लुट, घुसखोरी, कमिशन लगायतको कारोबार फष्टाएको छ । सरकार नै स्वयम त्यसमा लागेको छ ।’ संघीय सरकारका भ्रष्टाचारका नमुना अन्तर्राष्ट्रिय स्तरसम्म पुगिसकेको अवस्था प्रदेश र स्थानीय सरकार पछि नरहेको उनले बताए । ‘सुदूरपश्चिम प्रदेशमा त मुख्यमन्त्री कार्यालयबाटै कमिशनको मोलमोलाई हुन्छ,’ उनले भने ।
यस्तो अवस्थामा कम्यूनिष्ट पार्टीमा लागेर भ्रष्टचारको हिस्सेदार नबन्न सर्बसाधारणलाई उनले आग्रह गरे । उनले भने,‘यो अवस्थाले आम कम्युनिष्ट पार्टीका सदस्य र मतदातालाई ईतिहासले सराप्नेछ । भविष्यको पुस्ताले सराप्नेछ ।’
नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले भ्रष्टचारमा लिप्त सरकार र जनप्रतिनिधीको जनताले हिसाबकिताब राखेको दाबी गरे । ‘जनताले हिसाबकिताब राखेका छन्,’ उनले भने,‘राज्यकोषमाथि बलात्कार गर्नेको एकदिन हिसावकिताब हुन्छ ।’
नेपाली कांग्रेस अछामका सभापति भरत स्वाँरले भ्रष्टाचार गरेर तत्काल सुरक्षित रहेपनि भोली कोही सुरक्षित नरहने बताए । ‘भविष्य नहेरेर कमाईएको अकुत सम्पत्ती एकदिन कानुनी छानविनमा आउछ,’ उनले भने ।