काठमाडौं, जेठ २८ (ई-रैवार)
सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुख सापकोटाले समसामयिक विषयमा छलफल गर्न दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान हुन् ।
सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।
सभामुखको सचिवालयका अनुसार छलफलमा सहभागिताका लागि दलका प्रमुख नेताहरूलाई सभामुखले पत्र पठाएका थिए । उक्त छलफलमा प्रधानमन्त्री सहभागी नहुने बिहीबार प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए थिए ।
“प्रधानमन्त्रीको नाममा पार्टी कार्यालयमा पत्र पुगेको रहेछ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबार हो,” सचिवालयका ती सदस्य भन्छन्, “प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन । भेटेर छलफल गर्ने हो । यसरी बोलाएको बैठकमा उहाँ जानु हुन्छ कि हुँदैन भन्ने पनि छ ।”
राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुखहरु, कानुन व्यवसायीसँग छुट्टाछुट्टै परामर्श गरेका थिए । प्रतिनिधिसभा विघटनको विरुद्धमा असाधारण कदम चाल्ने बताएका सापकोटाले छलफल र परामर्शमा जोड दिएको पाइन्छ ।
प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनमा बहुमत हुँदाहुँदै प्रक्रिया–पद्धति मिचेर संसद् विघटन गरेको भन्दै विपक्षी गठबन्धन १४६ सांसदको हस्ताक्षर लिएर अदालत पुगेको छ । मुद्दामाथि सुनुवाइ सुरु भएको छ । सभामुख जारी संवैधानिक र राजनीतिक संकटको समाधान के हुन्छ भनेर छलफलमा जुटिरहेका छन् ।


