काँग्रेस बैठक चौथो पटक सर्‍यो, विवाद सहमति नजिक

काँग्रेस बैठक चौथो पटक सर्‍यो, विवाद सहमति नजिक
Spread the love

काठमाडौं, कार्तिक २३ (ई-रैवार)

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक पनि सरेको छ । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बैठक २७ कात्तिकमा बस्ने गरी सारिएको जानकारी दिएका हुन ।

काँग्रेस उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौलाका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरु  होम आइसोलेसनमा रहेकाले बैठक सारिएको मुख्यसचिव पौडेलले जानकारी दिए ।

कांग्रेसका मुख्य सचिव  पौडेलले सोमबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २७ गते दिउँसो १ बजे बस्‍ने जानकारी दिए ।

आसन्‍न महाधिवेशनको तयारीका बारेमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको हो ।  पार्टीमा देखिएको विवाद समाधानका लागि जारी पदाधिकारी बैठक ठोस निष्कर्षमा पुग्‍न नसकेका कारण सोमबारका लागि बोलाइएको बैठक कात्तिक २७ गतेसम्मका लागि सरेको एक केन्दिय सदस्यले बताए ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्तिक २४ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्‍ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कात्तिक २७ गते बिहीबार दिनको १ बजे बस्ने भएको छ,” मुख्य सचिव  पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि गत बिहीबार बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकमा पनि पार्टीमा जारी विवाद समाधानबारे सहमति नजुटेपछि शुक्रबारका लागि तय भएको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्‍ने गरी स्थगित गरिएको थियो ।

पार्टी केन्द्रीय विभागको गठन, क्रियाशील सदस्यताको वितरण, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका विषयमा विधान विपरीत निर्णय भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्य गरी २७ जनाको हस्ताक्षर गरेर पार्टी केन्द्रीय कार्यालयमा असोज १२ गते १६ बुँदे ज्ञापनपत्र दर्ता गरेको थियो । १७ असोजयता त्यही १६ बुँदे ज्ञापनपत्रमा काँग्रेस अल्झिएको छ ।

पौडेल पक्षले विधान विपरीतका निर्णय खारेज गर्नुपर्ने अडान राखेको छ भने सभापति शेरबहादुर देउवा पक्षले विधानसम्म नै निर्णय भएको जिकिर गरिरहेको छ । तर बैठकमा सहभागी नेता गोपालमान श्रेष्ठले भने शीर्ष नेताहरुको बैठक सकारात्मक रुपमा आजबाट टुंगिएको बताए । उनले  भने, ‘विवाद सहमतिको नजिक पुगेको छ । अब २७ गते केन्द्रीय समिति बैठक हुन्छ । बाँकी विषय त्यहाँ टुंगिन्छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठक पार्टीमा देखिएका विवादहरु समाधान गरेर अघि बढ्ने सहमति जुटाएको हो ।

केन्द्रीय सदस्यसहित बस्दै आएको पदाधिकारी बैठकले पार्टीमा देखिएका पछिल्ला विवादहरु समाधान गरेर अघि बढ्ने सहमति जुटाएको नेताहरुले बताएका छन् । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पदाधिकारी बैठकमा दुबै पक्षबीच समझदारी भएको छ ।

उनले भने, “मन माझामाझ गरेर आशंकालाई निवारण गर्ने काम भएपछि पदाधिकारी बैठक समझदारी उन्मुख भएको छ । अब अनौपचारिक बैठक बस्दैन । २७ गते केन्द्रीय कार्यसमिति बैठकले अब सहमतिमै निर्णयहरु गर्छ । कुरा मिलिसक्यो ।”

यस्तै बैठकमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि पदाधिकारी बैठक सहमतितर्फ उन्मुख भएर सकारात्मक उपलब्धिहरु हासिल भएका प्रतिक्रिया दिएका छन् ।

विभाग गठन र मनोनयन, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, जनसम्पर्क समिति, भ्रातृ संस्थाको पदावधि, भ्रातृ संस्थाको पदाधिकारीको दोहोरो जिम्मेवारीलगायतका विषयमा कांग्रेसमा विवाद थियो । तीमध्ये अधिकांश विवादहरु पार्टीको विधानमा गरिएको व्यवस्थालाई आधार मानेर समाधान गर्न कांग्रेस नेताहरु सहमत भएका छन् ।