पोखरा असोज। नेपाल प्रहरी कल्याण कोषको करिब १० करोड रुपैयाँ लगानीमा पोखरामा पेट्रोल पम्प सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–७ पार्दी (सहिद चोक क्षेत्र)स्थित नेपल प्रहरी प्रदेश कार्यालयको हाताभित्र मंगलबारदेखि पेट्रोल पम्प सञ्चालनमा आएको हो ।यो पेट्रोल पम्पबाट २४ घण्टा नै डिजेल र पेट्रोल बिक्री–वितरण हुने कार्यालयका सूचना अधिकारी डीएसपी प्रकाश सापकोटाले बताए । ‘एक वर्षअघि नै निर्माणको काम सुरु भएको थियो । बीचमा अदालतमा रिट परेर ३ महिना डिस्टर्ब भयो,’ उनले भने, ‘हिजोदेखि हामीले सेवा सुरु गरेका छौं ।’
प्रहरी कल्याण कोषको ९ करोड ९६ लाख ६५ हजार रुपैयाँ लागतमा यो पेट्रोल पम्प निर्माण गरिएको हो । जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालय भएको क्षेत्रमा पेट्रोलियम पदार्थको बिक्री हुँदा भवितव्य हुन सक्ने भन्दै गत वर्ष असोजमा निर्माण कार्य रोक्न माग गरेर उच्च अदालत पोखरामा रिट परेको थियो । अदालतले गत वर्ष पुसमा उक्त रिट खारेज गरेपछि निर्माण कार्य अघि बढेको थियो ।
यो पेट्रोल पम्प सञ्चालनमा आएसँगै अब राष्ट्र बैंक चोक, रत्नचोक, ड्यामसाइड, लेकसाइड, मासबार क्षेत्रका बासिन्दालाई धेरै सहज हुनेछ । यस क्षेत्रका बासिन्दा सवारीमा इन्धन भर्न बिरौटा, शान्तिनगर वा पृथ्वीचोक जानुपर्ने बाध्यता थियो ।


