माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै

Spread the love

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ । बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने भएको हो ।

आजदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा बस्ने केन्द्रीय कमिटी बैठकमा एमसीसीप्रति असहमति जनाउँदै छलफल चलाउने तयारी छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक तीन दिनसम्म चल्न सक्ने छ । यो अवधिमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी र सांगठनिक विषयमा बैठकमा छलफल हुने उनले बताए ।

केन्द्रीय समितिको बैठकबाट बाँकी केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्ने तयारी छ । गत पुसमा आयोजित आठौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय सदस्यमात्र चयन गरेको थियो । तिनै केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

गएको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो । विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।

महाधिवेशनबाट अनुमोदित विधानमा २९९ केन्द्रीय सदस्य हुने भनिए पनि माओवादीले ६३ जना केन्द्रीय सदस्यहरु मनोनीत गर्न बाँकी छ । बैठकले पदाधिकारी चयन गर्ने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।

पदाधिकारीमा को–को हुने भन्ने टुंगो भने लागिसकेको छैन । महासचिव पदमा नेताहरू जनार्दन शर्मा र वर्षमान पुनको मुख्य दाबेदारी छ ।