युक्रेनमाथि रूसी आक्रमणबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच फोन संवाद

Spread the love

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ । प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार दुई जना बीचमा मंगलबार राति कुराकानी भएको हो ।

नेपालको संघीय संसद्को प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको दुई दिनपछि विदेश मन्त्री ब्लिन्केनले प्रधानमन्त्री देउवासँग टेलिफोन संवाद गरेका हुन् ।

उनीहरूबीच भएको संवादका क्रममा युक्रेनमाथि रुसको आक्रमणलाई सँगै विरोध गर्नुको साथै आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा मिलेर अघि बढ्ने प्रतिबद्धता गरिएको छ ।

रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता, भौगोलिक अखण्डताबारे आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री एन्टोनीले ट्वीटरमा उल्लेख गरेका छन् ।

ब्लिनकनले भनेका छन्, ‘रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको छ । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौं ।’ सामना गर्न मिलेर काम काम गर्नेछौं ।’

प्रधानमन्त्रीका प्रेस संयोजक परियारका अनुसार दुई जनाबीचको संवादमा अमेरिकाले नेपालको आर्थिक विकासमा विगत लामो समयदेखि निरन्तर गर्दै आइरहेको सहयोगलाई लिएर प्रधानमन्त्री देउवाले विदेशमन्त्री ब्लिन्केनलाई धन्यवाद दिएका थिए ।

नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले अमेरिकाबाट निरन्तर सहयोग रहेको उल्लेख गरेका थिए । साथै, दुई जनाबीचको संवादमा युक्रेनमाथि रुसी आक्रमणको विपक्षमा अमेरिका र नेपाल दुवै रहेको उल्लेख गरेको परियारले जानकारी दिए ।

नेपाल सरकारले फागुन १२ मै युक्रेनमाथि रुसी आक्रमणको आफ्नो स्पष्ट धारणा ल्याइसकेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालले युक्रेनमाथि रुसले गरेको सैन्य कारबाहीको विरोध गरेको थियो । रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेपछि विज्ञप्ति जारी गर्दै कुनै पनि अवस्थामा एउटा सर्वभौम राष्ट्रविरुद्ध गरिने शक्ति प्रयोगको विपक्षमा नेपाल रहने जनाएको थियो ।

‘नेपाल कुनै पनि सार्वभौम देशको विरुद्ध कुनै पनि परिस्थितिमा गरिने शक्ति प्रयोगविरुद्धमा छ र कूटनीति र संवादको माध्यमबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ,’ विज्ञप्तिमा भनिएको थियो ।

साथै, विज्ञप्तिमा नेपाल सरकार संयुक्त राष्ट्र संघको महासन्धिविपरीत युक्रेनको दोनेत्स्क र लुहाँस्क क्षेत्रलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिएको बताएको थियो । नेपालले बुधबार संयुक्त राष्ट्र संघमा रुसविरुद्ध भोट हालेको छ ।