प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

Spread the love

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बिहीबार बालुवाटार पुगेका छन् । प्रधानमन्त्री एव नेपाली कांग्रेस सभापति देउवालाई भेट्न उनी बालुवाटार गएका हुन ।

प्रधानमन्त्रीका सञ्चार प्रमुख गोविन्द परियारका अनुसार अध्यक्ष प्रचण्ड संसद्मा टेबल भएको अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताका विषयमा छलफल गर्न पुगेका हुन् ।

अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे आजदेखि संसदमा छलफल सुरु हुँदैछ । त्यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा बैठकमा मत विभाजनमा जाँदा के गर्ने भन्नेबारे छलफल भएको थियो ।

छलफल लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । ‘प्रधानमन्त्रीले नै छलफल गर्न बोलाउनुभएकाले जानुभएको हो’, माओवादी केन्द्रका एक नेताले भनेका छन् ।

सरकारले यही फागनु ८ गते बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेको थियो । आजदेखि बैठकमा छलफल हुनेछ । सरकारले जतिसक्दो चाँडो सम्झौता अनुमोदन गराउने तयारी गरेको छ । माओवादी केन्द्र भने एमसीसी संसद्बाट अनुमोदन गर्न नहुने पक्षमा छ ।