काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल गरिएपछिको रणनीति तय गर्न नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्ने भएको छ ।
आज दिउँसो १ बजेपछि बैठक बस्ने तयारी भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एमसीसीका विषयमा पार्टीको धारणा तय गर्ने उनले बताए ।
सत्तासाझेदार दल एकीकृत समाजवादीको यही फागुन ७ गते बसेको स्थायी कमिटी बैठकले एमसीसी संसद्मा टेबल गर्न दिने तर यथास्थितिमा अनुमोदन गर्न नहुने निर्णय गरेको थियो ।
सोहीअनुसार अघि बढ्ने भए पनि आगामी रणनीति तय गर्न बैठक बस्न लागेको प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए । एमसीसी सम्झौता आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल भएपछि अध्यक्ष माधवकुमार नेपालले आफूहरू यसअघिको बैठकको निर्णयमा नै अडिग रहेको बताएका थिए ।
एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले भने प्रतिनिधिसभामा एमसीसी टेबल गर्ने विषयमा नै आपत्ति जनाएका थिए । उनले संसद् बैठकमा उठेर विरोध जनाएका थिए ।


