काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको हो ।
झापास्थित गिरीबन्धु टी स्टेटको नाममा बिर्तामोड र अर्जुनधारामा रहेको करिब ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरेको भन्दै बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन भूमि व्यवस्थामन्त्री पद्मा अर्याल सहितकाविरुद्ध उजुरी दर्ता गराएका हुन।
यस्तै, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सीसीएमसीका तत्कालीन संयोजक ईश्वर पोखरेल र तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध पनि उजुरी दर्ता गराएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिएका छन् ।
त्यस्तै, अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा ‘भिजिट नेपाल २०२०’ मा विदेशीहरूलाई व्यापक रूपमा भित्र्याउने उद्देश्यले प्रचारप्रसारका लागि राज्यकोषको करोडौँ रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईविरुद्ध पनि उजुरी दर्ता गराएको उनले बताए ।


