प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल, सत्ता गठबन्धन बैठक ५ बजेलाई सर्‍यो

प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल, सत्ता गठबन्धन बैठक ५ बजेलाई सर्‍यो
Spread the love

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन आज सत्तारुढ गठबन्धनको बैठक बस्न अघि दुई नेताबीच छलफल भएको हो ।

बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भएको भेटवार्तामा बिहीबार सत्तारूढ दलको बैठकपछि मात्र अघि बढ्ने सहमति भएको छ ।

अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा साझा धारणा बनाउन बिहीबार सत्ता गठबन्धन दलहरूको बैठक बस्ने भएको हो । गठबन्धनको बैठकअघि सहमतिका लागि पहल गर्न ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा आगामी प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्न चाहन्छन् भने प्रचण्ड सहमति कायम गरेर मात्र त्यसलाई टेबल गर्ने पक्षमा छन् । प्रधानमन्त्रीले जबरजस्ती सम्झौतालाई संसद्मा टेबल गरे माओवादीले सरकारसम्म छाड्ने धम्की दिएको छ ।

सरकारले बुधबार नै एमसीसीको प्रस्ताव सदनमा टेबुल गर्ने योजना बनाएको थियो । माओवादी केन्द्र संसदीय दलको बैठक सकेर अध्यक्ष दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुका थिए। भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री देउवासँग तत्काल एमसीसी टेबल नगर्न आग्रह गरे पछि सहमति जुटाएर मात्र एमसीसीलाई अघि बढाउनुपर्ने निर्णयमा प्रधानमन्त्री देउवा पुगेका छन् ।