स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता

Spread the love

काठमाडौं : निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ता गर्ने आह्वान गरेको हो ।

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको हो । निर्वाचन आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् ।

स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निवेदनको ढाँचा आयोगको वेबसाइटबाट डाउनलोड गर्न वा आयोग सचिवालयबाट प्राप्त गर्न सकिने समेत आयोगले जनाएको छ ।

दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइ खुलाउनुपर्ने आयोगले जनाएको छ ।

त्यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि खुलाउनुपर्नेछ । साथै यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिन्हको सट्ट अर्को निर्वाचन चिन्ह लिन चाहने दलले आफूले प्राप्त गर्न चाहनेको तीन वटा निर्वाचन चिन्ह प्राथमिकता क्रम अनुसार उल्लेख गर्नुपर्नेछ ।

यसैगरी, राजनीतिक दलको संगठनात्मक स्वरुप केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तर छ–छैन खुलाउने र स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेको जिल्ला पनि दल दर्ता गर्दा खुलाउनुपर्ने आयोगले जनाएको छ ।

आयोगले निर्वाचन प्रयोजनाको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली, तथा घोषणापत्र, निर्वाचन चिन्हको नमूना र सोको विद्युतीय प्रतिका कागजत पनि संलग्न गर्नुपर्नछ ।

त्यस्तै, आव २०७७/०७८ को वार्षिक लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरण समेत देखिने गरी तयार गरिएको वार्षिक लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलग/अलग रहेको दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्नेछ ।