काठमाडौं : सत्तापक्षले आफूहरूसँग कुनै किसिमको छलफल नगरेको भन्दै नेकपा एमालेले आज पनि संसद्मा अवरोध गर्ने भएको छ । एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले आज बस्ने प्रतिनिधि सभा बैठकमा आफूहरूको अवरोध जारी रहने बताएका हुन्।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । “संसद् अवरोध कायम रहन्छ । हामीसँग कसैले कुरा गरेको छैन,” एमाले संसदीय दलका उपनेता नेम्वाङ भने । प्रतिनिधि सभा बैठकमा एमसिसी पेस हुने अनौपचारिक जानकारी आफूहरूले पाएको समेत उनले बताए।
‘हामीले उठाएका एजेण्डाबारे छलफल भएको छैन। हामीलाई एकपटक हेल्लो गरिएको छैन,’उनले भने,’हाम्रो अवरोध जारी रहन्छ। हामीले भोलिको बैठकमा उपस्थित हुन सबै सांसदलाई भनिसकेका छौं।’
एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसद (हाल नेकपा एकीकृत समाजवादी) मा रहेकालाई बैठकमा प्रवेश गर्न दिन नहुनेलगायत एमालेको माग छ । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पनि मागेको थियो ।


