सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै, एमालेले बहिस्कार गर्ने

Spread the love

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाइएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा संसदमा एमालेले गर्दै आएको अवरोध खुलाउने र महाअभियोग प्रस्ताव प्रक्रियामा लैजाने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले आज बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने बताए । ‘एमाले त्यो बैठकमा जाँदैन । किनभने सभामुखप्रति हाम्रो असहमति रहँदै आएको छ  । उहाँसँगै असहमति रहिरहेका बेला फेरि उहाँले नै बोलाएको बैठकमा जानुको अर्थ रहँदैन’, तामाङको भनाइ छ । 

नेकपा एमाले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।

नेकपा एमाले उच्च स्रोतका अनुसार एमालेले आजै सभामुख सापकोटाविरुद्ध महाभियोग प्रस्ताव लैजाने तयारी समेत गरेको छ । 
‘सभामुख स्वयंकाविरुद्ध महाअभियोग जाने सम्भावना छ । त्यो प्रक्रिया आजै बस्ने संसदीय दलको बैठकपछि अघि बढ्नसक्छ’, एमाले अध्यक्ष केपी ओली निकट एक नेताले भने, ‘सभामुख कुनै एक पार्टीको प्रवक्ताजस्तो भएको अवस्था छ । उहाँको यस्तो व्यवहारले सदनको गरिमा उचो बन्न सकेन ।’

आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले सत्तारुढ दलले प्रधानन्यायाधीशमाथि महाभियोग प्रस्ताव लोकतन्त्रमाथिको प्रहार, संघीय लोकतान्त्रिक गणतन्त्र र सुदृढ हुदै गएको राजनीतिक प्रणालीलाई अस्थिर बनाउने र नियन्त्रित अस्थिरता सिर्जना गर्ने उदेश्य अनुसार अघि बढाएको निश्कर्ष निकालेको थियो । त्यस्तै उसले उक्त कदमको प्रतिवाद गर्ने निर्णय समेत गरेको थियो ।