प्रधानन्यायाधीश चोलेन्द्रमाथिको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

Spread the love

काठमाडौं : नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले प्रधानन्यायाधीश जबराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने भएको हो ।

एमाले सचिवालय बैठकले महाभियोग लोकतन्त्रमाथि प्रहार र गणतन्त्रमाथि कमजोर बनाउने षड्यन्त्र भएको निष्कर्ष निकाल्दै यस्तो प्रवृतिको प्रतिवाद गर्ने निर्णय गरेको बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिएका हुन ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘यो कदम नेपालमा सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा आएको हामीले अनुमान गरेका छौं ।’

सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई विथोल्ने र अदालतलाई सत्ताको निर्देशनमा चल्ने संस्था बनाउने उद्देश्यले महाअभियोग प्रस्ताव दर्ता भएको पोखरेलले बताए ।

‘समग्रतामा भन्दा यो कदम लोकतन्त्रमाथिको प्रहारका रुपमा र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको प्रहारका रुपमा लिएका छौं’ उनले भने, ‘पार्टीको तर्फबाट गम्भीर ढंगले प्रतिवाद गर्न आवश्यक छ भन्ने निष्कर्ष निकालेका छौं ।’

उनले यो कदम अनुचित भएको भन्दै त्यसलाई असफल पार्ने पनि बताए । आइतबार सत्ता गठबन्धनले प्रधानन्यायाधीश राणामाथि महाभियोग प्रस्ताव दर्ता गरेको थियो ।