राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

Spread the love

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच एक घण्टा भेटवार्ता भएको राष्ट्रपतिको स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका हुन । ‘यो नियमित भेटघाट नै हो, भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ’ उनले भने ।

भेटमा राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन संविधानले व्यवस्था गरेबमोजिम समयमै सम्पन्न गर्न आग्रह गरेकी छन् । संविधानको भावनाबमोजिम समयमै स्थानीय निर्वाचन गर्नुपर्छ । अन्य निर्वाचनहरु पनि समयमै गरेर संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्छ,’ भेटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँग भनेको उदृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले भने ।

स्थानीय निर्वाचनबारे राजनीतिक दलहरूसँग छलफल भइरहेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयनमा सरकार पूर्ण प्रतिबद्ध रहेको तथा संवैधानिक प्रावधानअनुसार समयमै निर्वाचन गर्ने दृढता व्यक्त गरेको बताइएको छ ।

‘संविधानको कार्यान्वयनमा सरकार प्रतिबद्ध छ, संविधानको मर्म र भावनाबमोजिम समयमै निर्वाचन हुन्छ, यसबारे सबैसँग सल्लाह गरेरै निष्कर्षमा पुग्छौं,’ देउवाले भनेका थिए । भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच बुधबारमात्रै सम्पन्न राष्ट्रिय सभा निर्वाचन, संसदको गतिरोध अन्त्य गर्ने लगायत समसामयिक राजनीतिक गतिविधिका विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ । ‘यो नियमित भेटघाट हो, खास विषयवस्तु केही थिएन,’ ढकालले भने, ‘प्रधानमन्त्रीज्यू दिउँसो ३ बजे आउनुभएको थियो, करिब एक घण्टा कुराकानी भयो ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद् अवरोध गरेपछि प्रधानमन्त्री देउवाले संसद् खुलाउने विषयमा निरन्तर पहल गरिरहेका छन् । देउवाले यसअघि पनि राष्ट्रपति भण्डारीलाई भेटेलगत्तै विपक्षी दलका नेता केपी ओलीसँग उनको निवास भक्तपुरको बालकोटमै पुगेर भेटेका थिए ।