कांग्रेसले फेरि स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन

Spread the love

काठमाडौं : नेपाली कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन फेरि स्थगित गरेको छ। आगामी माघ १५ गते हुने भनिएको कांग्रेसको १६ जिल्लाको जिल्ला अधिवेशन कोरोना महामारीका कारण फेरि स्थगित भएको हो ।

कोभिड–१९ महामारीका कारण १४ औं महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिएका हुन ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको रिजालले बताए । प्रदेश नम्बर २ का ८ जिल्लासहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन हुन बाँकी छ।

कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६१ जिल्ला अधिवेशन भने यसअगाडि नै गरिसकेको थियो।