काठमाडौं : आजदेखि सार्वजनिक स्थान जाँदा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो ।
गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार आजदेखि देशभरका जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुने छ ।
सबै निकायहरुले खोप कार्ड हरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख छ ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि निजी र सार्वजनिक सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो सेवा प्रवाहको प्रबन्ध मिलाउन भनिएको छ ।


