सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै, आगामी निर्वाचन बारे छलफल हुने

Spread the love

काठमाडौं : सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको हो।

यो समितिमा सरकारका एक मन्त्रीसहित गठबन्धनका ५ दलबाट २/२ जना सदस्य छन्। आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । गठबन्धनमा स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेको छ ।

यसअघि बिहीबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संघीय चुनाव अगाडि गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

वैशाखमा स्थानीय तहको चुनाव गर्ने कि तीनै तहको चुनाव एकैपटक वैशाखमा गर्ने कि वैशाखमा संघीय चुनाव गर्ने भन्ने जस्ता विभिन्न प्रस्ताव आइरहेका बेला राजनीतिक समन्वय समितिको बैठक बस्न लागेको हो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह चुनाव वैशाखमै गरिनुपर्ने बताइरहेको छ। संविधानअनुसार ५ वर्ष कार्यकाल सकिएको छ महिनाभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने उल्लेख भए पनि स्थानीय तह निर्वाचन ऐनअनुसार भने कार्यकाल सकिनुभन्दा दुई महिनाअगाडि नै निर्वाचन गरिसक्नुपर्छ।

सत्तागठबन्धनले भने निर्वाचन ऐनको व्यवस्था संविधानसंग बाझिने देखिएकोले ऐनलाई संविधानअनुसार हुने गरी व्यवस्था गरिनुपर्ने पनि बताइरहेका छन्।