काठमाडौं : सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक बसिरहेको छ । गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक आज बिहान बसेको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, आसन्न राष्ट्रिय सभा निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो ।
बालुवाटार स्रोतका अनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर प्रतिनिधि सभा बैठक सुचारू गराउनुपर्ने जस्ता विषय पनि छलफलमा उठेका छन्। संयोजक पौडेलले बुधबार बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग त्यसै सन्दर्भमा भेटवार्ता गरेका थिए।
राजनीतिक समन्वय समितिकका संयोजक नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहित कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल छन् ।


