सत्तारुढ गठबन्धनले यसरी गर्‍यो राष्ट्रिय सभा निर्वाचनमा उमेदवार भागबण्डा

Spread the love

काठमाडौं : सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकबाट सत्ता गठबन्धनले भागबण्डामा संयुक्त उमेदवार बनाउने निर्णय भएको हो ।

नेकपा एकीकृत समाजवादीका महासचिव डा।वेदुराम भुसालकाअनुसार रिक्त हुन लागेको १९ सिटमध्ये काँग्रेसलाई ६, माओवादीलाई ५, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई १ सिट बाँडिएको छ ।

जसमा काँग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका चार–चार सिट खाली हुँदैछ । उक्त सिट सोही पाटीलाई छोडेर एमालेका ८ सिटमा मात्र गठबन्धनभित्र भागबण्डा गरिएको हो ।

राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।

कुन प्रदेशमा गठबन्धनका कुन दलले कति लिने ?
 
प्रदेश–१ मा खाली हुने तीन सिटमा कांग्रेसले एक, नेकपा एकीकृत समाजवादीले एक र जनता समाजवादीले एक सिट लिने सहमति भएको छ । यस्तै प्रदेश–२ मा खाली हुने दुई सिट नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले एक–एक सिट लिने भएका छन् । वाग्मती प्रदेशमा खाली हुने दुई सिटमा नेपाली कांग्रेस एकीकृत समाजवादीले एक–एक सिट लिने सहमति भएको छ ।

गण्डकी प्रदेशमा खाली हुने तीन सिटमध्ये नेपाली कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एक–एक सिट लिनेछन् ।  लुम्बिनी प्रदेशमा खाली हुने तीन सिटमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने सहमति जुटेको छ । 

कार्णाली प्रदेशमा खाली हुने तीन सिटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले एक–एक सिट लिने सहमति भएको छ । सुदूरपश्चिम प्रदेशमा खाली हुने तीन सिटमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक सिट लिने सहमति भएको छ । 

राष्ट्रपतिबाट मनोनीत हुने सिटमा भने माओवादी केन्द्रकै सिफारिस भएकाले फेरि पनि उसले नै त्यो सिफारिस गर्ने सहमति भएको छ ।