राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगमा १२ वटा दल दर्ता

Spread the love

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । निर्वाचन आयोगले पुस १२ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने प्रयोजनका लागि दल दर्ताको समय पनि शनिबार सम्म तोकेको थियो ।

‘निर्वाचन आयोगका अनुसार हिजो शुक्रबार ८ र आज ४ वटा दलले दल दर्ता गराएको निर्वाचन आयोग अन्तर्गत राजनीतिक दल शाखाका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्ले बताए ।

उनका अनुसार दल दर्ता गराउने मध्ये माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस, नेपाल परिवार दल गरी नौ वटा दलले सातै प्रदेशको राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।

नेपाल मजदुर किसान पार्टीले भने बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मात्रै दल दर्ता गराएको छ । लोकतानित्रक समाजवादी पार्टी नेपालले प्रदेश २ र सुदूरपश्चिम प्रदेशका लागि र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ को राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गरेको वाग्लेले बताएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सांसद, स्थानीय निकायका प्रमुख, उपप्रमुख र नगरपालिकाका प्रमुख, उपप्रमुखले भोट हाल्ने प्रबधान रहेको छ ।

आयोगमा दर्ता भएका एक १०३ दलमध्ये १२ वटा दलले निर्वाचन प्रक्रियाका लागि दल दर्ता गराएको आयोगले जनाएको छ । स्थानीय निकायको निर्वाचनमा भने यो संख्या वृद्धि हुने वाग्ले बताउछन् । उनका अनुसार दर्ता भएका कागजपत्रको छानबिनको काम पछि राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने गरी निर्वाचन चिन्ह वितरण गर्ने निर्णय आयोगले गर्नेछ ।