कैलालीका १२६ वडामा काँग्रेसको अधिवेशन सम्पन्न, ९१ वटामा सर्वसम्मत नेतृत्व चयन

Spread the love

धनगढी, कात्तिक २८ (ई-रैवार)  

कैलालीका १२६ वडामा नेपालीको काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता विवादका कारण निर्धारित समयमा हुन नसकेको नेपाली कांग्रेस कैलालीको वडा अधिवेशन शनिबार सम्पन्न भएको हो ।

नेपाली काँग्रेस प्रचार प्रसार समिति कैलालीका संयोजक नृप सुनारका अनुसार कैलालीका १२६ वडामा मध्ये ९१ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । अन्य ३३ वटा वडामा निर्वाचन भएको नेपाली काँग्रेस प्रचार प्रसार समिति कैलालीका संयोजक सुनारले जानकारी दिएका छन् ।

पूर्वकेन्द्रीय सदस्य तथा राज्यमन्त्री चन्द्रसिंह भट्टराई, नेता गंगाबहादुर कुँवर, फकिरसिंह कठायत, जंगबहादुर साउद, बुद्धिसागर चौधरी, पूर्वजिविस सभापति नारायणदत्त मिश्र, कांग्रेस पूर्वजिल्ला सभापति गोविन्द जोशीलगायत निर्विरोध चयन भएको प्रचार समिति संयोजक सुनारले बताए ।

त्यस्तै जिल्ला सभापतिका दाबेदार घोडाघोडी नगरपालिका १ बाट भीम बडुवाल, धनगढी उपमहानगरपालिका १२ जुगेडाबाट नारायणदत्त भट्ट, गौरीगंगा नगरपालिका ४ बाट प्रकाश बम, कैलारी गाउँपालिका–८ बाट गणेश देउवा निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेसको वडा कार्यसमितिको निर्वाचनमा युवापुस्ताको बाहुल्य देखिए पनि क्षेत्रीय प्रतिनिधिमा भने पुरानै अनुहार प्रतिस्पर्धामा छन् ।

निर्वाचन समितिका सदस्य रामचन्द्र ओझाले निर्विरोध हुन नसकेको वडामा शान्तिपूर्ण ढंगबाट निर्वाचन भएको बताए । ‘अधिवेशन सम्पन्न भएका वडामध्ये ९१ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ,’ उनले भने, ‘बाँकी वडामा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ।’ उनका अनुसार टीकापुर नगरपालिका–१, बर्दगोरीया–२, लम्की– १, गोदावरी– ६, जोशीपुर–१ र धनगढी–५ मा नेतृत्व चयन बाँकी रहेको छ। उनले गोदावरी नगरपालिकाको वडा नम्बर ६ मा मतदान हुन बाँकी रहेको बताए ।

धनगढी उपमहानगरपालिकाको १९ वडा मध्ये ३,४,१३,१४,१८ वडामा भने निर्वाचनबाट नेतृत्व चयन भएको छ । अन्य वडामा भने सर्वसम्मत नेतृत्व चयन भएको उनले बताए । त्यस्तै टीकापुर नगरपालिकाका वडा नम्बर १, ५ र ८, गोदावरी नगरपालिकाको वडा नम्बर १,२,५ र ७ तथा जानकी गाउँपालिकाको वडा नम्बर ८ र ९ मा निर्वाचनबाट नेतृत्व छनौट गरिएको उनले बताए ।

यसैगरी लम्की चुहा नगरपालिकाको वडा नम्बर १,२,३,४,५ र १० मा पनि निर्वाचनबाट नेतृत्व छनौट गरिएको छ। बर्दगोरीया गाउँपालिका–२ मा क्षेत्रीय प्रतिनिधिको मत गणना भइरहेको बेला एक समूहले १६ मत च्यातेका कारण अवरुद्ध भएको पनि सुनारले बताए ।

कांग्रेसमा क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र जिल्ला नेतृत्व छनोट गर्ने व्यवस्था छ । कैलालीका ५ वटा संघीय निर्वाचन क्षेत्रबाट करिब अढाई हजार क्षेत्रीय प्रतिनिधि शनिबार चयन भएका छन् । यहाँ कात्तिक ३० गते स्थानीय तहको नेतृत्व चयन हुनेछ । मंसिर १० गते जिल्ला नेतृत्वको निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।