सौँराहा, मंसिर १४ (ई-रैवार)
नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन्। चितवनको सौराहामा सम्पन्न पार्टीकाे १०औं राष्ट्रिय महाधिशनमा भीम रावललाई भारी मतले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन्।
एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । अध्यक्ष अोलीले १८३७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रावलले २ सय २३ मत प्राप्त गरेका छन्। ४३ मतपत्र खाली रहेकाे छ।
यस्तै, नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन्। सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन्।
विद्युतीय मेसिनबाट मतदान भएको थियो। एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय मेसिनबाट राखिएको थियो। एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो।
निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको थियो।
उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले १९७६ मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत प्राप्त गरे । उपाध्यक्षमा पराजित घनश्याम भुसालले ७२५ मत ल्याए ।
सचिवमा गोकर्ण विष्टले सर्वाधिक १९७४ मत प्राप्त गरे । योगेश भट्टराईले १९६०, टोपबहादुर रायमाझीले १८०४, छविलाल विश्वकर्मा १८०३ र पद्मा अर्यालले १७९९, लेखराज भट्टले १७०४, र रघुवीर महासेठले १५०० मत ल्याउँदै सचिव पदमा निर्वाचित भए ।
सचिवमा पराजित भीम आचार्यले ७८८ सय र टंक कार्कीले ५५९ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन भए ।


