धनगढी, वैशाख २९ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशका निजी अस्पतालले कोरोना बिरामीको उपचार गर्न नसकिने जनाएका छन् । निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश (अफिन) ले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
अक्सिजन आपुर्ति प्रयाप्त भएन भने आजै देखि नयाँ कोभिडका बिरामीहरु भर्ना लिन नसकिने अवस्था आईसकेको सबैमा जानकारी गराउदछौँ, अफिन सुदूरपश्चिम प्रदेशका अध्यक्ष जनक राज जोशीद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा भनिएको छ ।
निजी अस्पतालहरूको उक्त संगठनले अक्सिजन सहज रूपमा उपलब्ध गराउने वातावरण मिलाइदिन सरकारलाई अनुरोधसमेत गरेको छ । सरकारी अस्पतालहरू भरिभराउ भएपछि प्रदेश सरकारको सहकार्यमा यहाँका निजी अस्पतालहरूले संक्रमितको उपचारका लागि वार्ड सञ्चालन गरेका छन् । हाल सुदूरपश्चिमभरि अक्सिजनको चरम अभाव छ ।
बिश्वभर फैलिरहकेको नयाँ भेरियन्टको कोरोना भाइरसका कारण सुदूरपश्चिम प्रदेशमा पनि यसको प्रत्यक्ष असर परेको छ । प्रदेशमा बढ्दो कोरोनाका कारण यहाँका सरकारी अस्पतालहरु संक्रमितले भरिभराउ हुन पुगेका छन् । त्यस लगत्तै प्रदेश सरकारको सहकार्यमा यहाँका निजी अस्पतालहरुले संक्रमितहरुको उपचारको लागि वार्ड सञ्चालन गरेका हुन् ।



