काँग्रेस १४ औं महाधिवेशन : महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने, प्रदेश अधिवेशन गर्न ७ नेतालाई जिम्मेवारी

Spread the love

काठमाडौं, कात्तिक २८ (ई-रैवार)

नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्न सात नेतालाई प्रदेश अधिवेशन मुल आयोजक समितिको संयोजक तोकेको छ । काँग्रेसको आज बूढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न गर्न प्रदेश अधिवेशन मुल आयोजक समितिको संयोजक तोकेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेश १ को संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवन बहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्र बडूलाई संयोजक तोकिएको जानकारी दिएका हुन ।

काँग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ । यस्तै बैठकले प्रदेश अधिवेशन गर्ने स्थान पनि तोकेको छ । जसअनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा हुनेछ भने प्रदेश २ को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा अधिवेशन हुनेछ ।

यी सात जना नेताको संयोजकत्वमा बनेको आयोजक समितिमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, प्रदेश सभा संसदीय दलका नेता, प्रदेश सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलगायत समितिमा रहनेछन्।

कांग्रेसले संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो। केन्द्रीय महाधिवेशन भने कांग्रेसले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने भएको छ।

साथै महाधिवेशनका लागि विभिन्न उपसमितिहरू गठन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पठाइएको छ। महाधिवेशनका लागि अर्थ संकलनका लागि सञ्चार मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ।

भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेले जिम्मेवारी पाएका छन्। विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ।

प्रचार संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मा छन्। मञ्च व्यवस्थापन काठमाडौं सभापतिको नेतृत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य छन्।

स्वास्थ्य क्षेत्रको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ। सांस्कृतिक समितिमा सीता गुरूङ संयोजक छिन्। यी समग्र प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने हुन्छ।

साथै कांग्रेसले पार्टीको नीति तथा कार्यक्रम तय गर्न छुट्टै विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । कांग्रेसले अबदेखि नीति र नेतृत्व महाधिवेशन फरक-फरक गर्ने तयारी गरेको हो। प्रवक्ता शर्माका अनुसार अहिले नेतृत्व महाधिवेशन गर्ने र अब आउने नेतृत्वले उचित समयमा नीति महाधिवेशन गर्नेबारे छलफल भएको हो।

उनले भने, ‘महाधिवेशनले नेतृत्व मात्रै चयन गर्‍यो, नीति तथा कार्यक्रममाथि बहस नै भएन भनेर जुन आलोचना भइरहेको छ, त्यसलाई मध्यनजर गरेर अब यो महाधिवेशनले नेतृत्व चयन गर्नेछ भने महाधिवेशनबाट आउने नयाँ कार्यसमितिले विधान अधिवेशन तय गर्ने समझदारी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा भएको छ ।’

यसअघि महाधिवेशन कै बेलामा काँग्रेसले पार्टीको नीति तथा कार्यक्रम पेश गर्दै आएकोमा अब भने छुट्टै नीति अधिवेशन गर्न लागेको छ। महाधिवेशनको समयावधि थोरै रहेको र धेरै प्रक्रियाहरु पूरा गर्नुपर्ने भएकाले काँग्रेसले राष्ट्रिय महाधिवेशनपछि पार्टीको नीतिबारे वृहत छलफल गर्न लागेको नेताहरुको जानकारी दिएका छन्।  

काँग्रेस महाधिवेशन कार्यक्रम सार्वजनिक

नेपाली काँग्रेसले महाधिवेशन कार्यक्रम तय गरेकाे छ । काँग्रेस महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु हुने भएकाे हो। काँग्रेस निर्वाचन समितिले तयार गरेको कार्यक्रमअनुसार  २१ गते मतदाता नामावली (महाधिवेशन प्रतिनिधिकाे सूची) प्रकाशन हुने छ । २२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीकाे कार्यक्रम र मतदाता नामावलीकाे अन्तिम सूची सार्वजनिक गरिने छ । 

३ गते उम्मेदवारी मनाेनयनकाे कार्यक्रम छ । यस्तै मंसिर २४ गते महाधिवेशन उद्घाटन गरिने छ भने २५ गते मतदान हुने । यसैगरी २६ गते मत गणना गरिनेछ । काँग्रेस नेता कृष्णप्रसाद सिटाैलाले अब कुनै जिल्लामा अधिवेशन हुन नसकेपनि केन्द्रीय महाधिवेशन नराेकिने बताए ।