काठमाडौं, वैशाख ११ (ई-रैवार)
पुनर्निर्माण गरिएको धरहरा शनिबार उदघाटन गरिँदै छ । बैशाख ११ गते शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको अबसर पारेर नयाँ धरहरा उद्घाटन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले दिएको निर्देशनअनुसार निर्माण कम्पनीले २४ सै घण्टा कामदार खटाएर हतार–हतार धरहराको रङ्रोगन, टावरको फिनिसिङ र गजुर राख्ने काम सकेको छ । निर्माण कम्पनीकाअनुसार अहिलेसम्म २ अर्ब १७ करोड रुपैयाँ खर्च भइसकेको छ ।
कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । उदघाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । उदघाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र रहने छन् ।
धरहराको पुननिर्माण गर्ने जिम्मा पाएको जीआईईटीसी रमन–जेभी निर्माण कम्पनीले धरहराको टावरको काम मात्रै सम्पन्न भएको जनाएको छ । तर धरहराको सुन्दरतासहित पूर्ण धरहराको काम सकिन अझै आठ महिनादेखि एक वर्षसम्म लाग्ने कम्पनीको भनाइ छ ।
निर्माण कम्पनीकाअनुसार अहिलेसम्म धरहराको ६५ प्रतिशत मात्रै पुननिर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीले धरहराको पुरै काम नसकिदै औपचारिक रूपमा उद्घाटन गरी काम सकिएको घोषणा गर्दैछन् । प्रधानमन्त्रीको यति हतारले स्पष्ट हुन्छ, कि धरहराको जस पनि आफैँ लिन खोज्दैछन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरे अहिले तत्कालै धरहरामा सर्वसाधारणलाई चढन नदिने बताउँछन् । ‘‘शनिबार ११ गते धरहरा उद्घाटन हुन्छ । धरहरा चढ्न सर्वसाधारणका लागि भने खुला गरिनेछैन् । सर्वसाधारणले धरहरा चढ्नका लागि अझै आठ महिना कुर्नुपर्नेछ,” उनले भने, ‘‘आगामी पुससम्ममा धरहराको सबै काम सम्पन्न गरी सर्वसाधारणका लागि खुला गरिनेछ ।”
निर्माणले पूर्णता पाउन बाँकी रहेता पनि २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले ढालेको धरहराकै छेउमा अर्को नयाँ धरहरा ठडिइसकेको छ । भूकम्पले जुन संरचना भत्काएको थियो, त्यसको निर्माण सकिन लागेकाले प्रधानमन्त्रीले उद्घाटन गर्न लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए ।
भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको छ । बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ । पुनर्निर्मित धरहरामा सुनको जलप लगाइएको गजुर बुधबार राखिएको थियो । २२ औं तलामा शिवलिंग छ ।
वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।
सम्झौताअनुसार धरहरा पुननिर्माणको काम गरिरहेको निर्माण कम्पनीले २०७७ साल असोजमाका सक्नुपर्ने थियो । कोरोना महामारीका कारण केही समय रोकिएको काममा राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७८ असार १६ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरेको छ । निर्माण कम्पनीले कोरोनाको समय काम गर्न नपाएकोे भन्दै २१ महिनाको म्याद थप गर्न माग गरेको थियो । पछि प्राधिकरणले नौ महिना अवधि थपेको छ । कम्पनीसँगको सम्झौताअनुसार कुल लागत ३ अर्ब ४८ करोड रहेको छ ।


