काठमाडौं, कार्तिक १८ (ई-रैवार)
प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। आज बिहान प्रधानमन्त्री देउवा स्वदेश फर्किएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले भ्रमणका उपलब्धीबारे पनि जानकारी गराएका छन्। कात्तिक १५ र १६ मा संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई प्रधानमन्त्री देउवा स्वदेश फर्किएका हुन्।
प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका थिए।
त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने बताएका छन् ।

प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’ प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश प्रकरणबारे भने बोल्न चाहेनन् । पत्रकार सम्मेलनको सुरुमै देउवाले कोप–२६ सम्मेलनबाहेकका अरु प्रश्न नसोध्न आग्रह गरेका थिए ।
सम्मेलनको क्रममा धेरै देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग विभिन्न विषयमा कुराकानी गरेको बताउँदै उनले नेपालप्रति छिमेकी भारतको सदभाव देखिएको जानकारी दिए ।
प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको बताएका छन्। मोदीले पनि प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निम्ता दिएको बताएका छन् ।
‘उहाँलाई मैले नेपाल भ्रमणमा आउनुस् भनेँ। तपाईंलाई नेपालमा स्वागत गर्छौं भनेँ। तपाईं पशुपतिनाथ, मुक्तिनाथ जानुहुन्छ, तपाईं धार्मिक ठाउँ जानुहुन्छ नेपालमा आउनुस् भनेँ,’ प्रधानमन्त्री देउवाले भने, ‘उहाँ आउन तयार छु भन्नुहुन्छ।’
उनले आफूलाई पनि मोदीले भारत भ्रमणमा आउन भनेको बताए। ‘उहाँ नेपाल भ्रमणमा आउने मितिको कुरा भएको छैन,’ उनले भने।
मोदीसँगको भेटमा देउवाले हवाईजहाज प्रवेश विन्दु अनुमति लगायतका विषयमा कुराकानी गरेका थिए । देउवाले कञ्चनपुर, धनगढी, नेपालगञ्ज र भैरहवाबाट हवाईजहाज प्रवेशको अनुमति दिन मोदीसँग आग्रह गरेको भेटपछि परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख थियो ।
‘टोपी लगाएर गएको बाइडनले चिनिहाले’
ग्लास्गोमा प्रधानमन्त्री देउवाले बेलायतका रक्षामन्त्रीसँग गोर्खा सैनिकका समस्या समाधानबारे छलफल गरेको जानकारी पनि दिए ।
‘बेलायतको रक्षामन्त्रीको नेपालप्रति धेरै नै सदभाव रहेछ,’ देउवाले भने, ‘अरुको घटाएर गोर्खा सैनिकहरुको संख्या बढाएको छु भनेर भन्नुभयो ।’ कतिपय कुराहरुमा अझै समस्या रहेको भन्दै देउवाले नयाँ राजदूत आएपछि बाँकी समस्या समाधानका विषयमा छलफल गर्ने बताएको जानकारी दिए ।
अमेरिकी राष्ट्रपति जो बाइडनसँग भएको भेटबारे जानकारी दिने क्रममा देउवाले भने, ‘बाइडनसँग भेट हुँदाखेरि टोपी लगाएर गएको चिनिहाले । नेपाल आएका रहेछन् उनी । नेपाल देश मलाई खुब मन पर्छ भने ।’
यसैगरी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नेपालाई पूरा सहयोग हुने बताएको पनि देउवाले बताए ।


