काठमाडौं, कात्तिक १४ (ई-रैवार)
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै धर्ना दिएका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।
नेपाल बार एसोसिएसनले घोषणा गरेको कालोपट्टीसहितको विरोध कार्यक्रमअन्तर्गत करिब एक घण्टा धर्ना दिइएको हो । विरोध प्रदर्शनमा कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगाना लगायत सहभागी थिए ।
‘न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एसोसिएसनको अभियान’ भन्दै ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने’ प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग गरिएको हो ।
बार एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम आयोजना गरेको हो । विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने एशोसिएसनले जनाएको छ ।
पछिल्लो समय प्रधानन्यायाधीश जबराको भूमिकामा प्रश्न उठेको र त्यसले न्यायालयलाई क्षति गर्ने भन्दै उनको राजीनामा माग गर्दै वकिलहरू आन्दोलित भएका हुन् ।
आजै बार परिसरमा प्रधानन्यायाधीशको समर्थनमा पनि केही कानुन व्यवसायीहरूले प्रदर्शन गरेका छन् । उनीहरूले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।
यस्तै, केही कानुन व्यवसायी भने हातमा सेतो र कालो दुवै पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका छन् । न्यायालयमा केही सकारात्मक र केही नकारात्मक क्रियाकलाप भएको भन्दै दुवैथरी पट्टी बाँधेर प्रदर्शन गरिएको उनीहरूले बताएका छन् ।
प्रदर्शनलाई लक्षित गरी सर्वोच्च परिसरमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार नेपाल बारले १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ ।
यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले सर्वोच्च अदालतमा बहस पैरवी बन्द गरेको छ ।


