डडेल्धुरा, कात्तिक १४ (ई-रैवार)
डडेल्धुरामा बस दुुर्घटना हुुँदा १० जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगर जादै गरेको ना८ख ६१३२ नम्बरको बस डडेल्धुराको आलितालगाउँपालिका-१ मा दुुर्घटना हुुँदा १० जना घाइते भएको हुन ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियालेका अनुसार दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना८ख ६१३२ नम्बरको बस शनिबार राति १२ बजेर ३६ मिनेटमा डडेल्धुराको स्याउलेमा इन्ट्री गरेको थियो। त्यसको झण्डै एक घण्टापछि आलिताल गाउँपालिका वडा नम्बर १ स्थित घण्टेश्वर मन्दिर नजिक दुर्घटनामा परेको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक बामदेव गौतमले ३२ जना सवार उक्त बस सडकबाट झण्डै १५० मिटर तल खसेपछि १० घाइते भएको जानकारी दिए । घाइतेहरूलाई उपचारका लागि धनगढी ल्याइएको उनले जानकारी दिएका छन् ।
घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका -६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका -८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार -६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका -१० का ३० वर्षीय चन्द्र बहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक गौतमले जानकारी दिए। दुुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाइल फोटो


