डोटी, कात्तिक १३ (ई-रैवार)
डोटीमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका–९ उच्चाकोटकी ३० वर्षीया राधिका रोस्याराको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र चन्दका अनुसार शिखर नगरपालिकाको वडा ११ मल्लीसात स्थित माइती घर गएकी रोस्याराको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिएका हुन ।
शुक्रबार दिउँसो करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा शैलेश्वरी अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ ।
यस्तै, करेन्ट लागेर सोही वडाका एक जना घाइते भएका छन् । शिखर नगरपालिका–११ बारबाटाका शिशिर साउद घाइते भएका हुन् । उनि पनि मोवाइल चार्ज गर्ने क्रममा हाई भोल्टेज आई मोबाइलको तारमा आएको करेण्ट लागेर घाइते भएका हुन् ।
घाइते साउदको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भैरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिएका छन् ।


