काँग्रेस महाधिवेशनको कार्यतालिका फेरि सार्‍यो, १४ औं महाधिवेशन २७ मंसिरदेखि

Spread the love

काठमाडौं, कार्तिक १० (ई-रैबार) 

नेपाली काँग्रेस १४ महाधिवेशनको कार्यतालिका फेरि सारेको छ । कांग्रेस निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएका वडा अधिवेशन कात्तिक २७ देखि थालेर मंसिर २७ देखि केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

नेपाली काँग्रेस १४ महाधिवेशन निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको हो ।

कांग्रेस निर्वाचन समितिले प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ । निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादव भन्छन्, ‘पार्टी नेतृत्वलाई प्रस्ताव गरेका छौं, त्यसअनुसार नै निर्णय हुन्छ होला । त्यसपछि कार्यतालिका प्रकाशित गर्छौं ।’

काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ । उनका अनुसार कात्तिक ३० गते पालिका अधिवेशन  हुने छ । यसअघि नै काँग्रेसले ६४ जिल्लामा महाधिवेशनको प्रक्रिया अगाडि बढाएको छ ।

सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन । यीमध्ये रसुवा बारा र रौतहटको  क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन ।

निर्वाचन समितिका सदस्य पोखरेलका अनुसार मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको पोखरेलले जानकारी दिए । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ ।

समितिले कात्तिक २७ गते वडामा, मंसिर ३ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, मंसिर ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

“हामीलाई पार्टीले पूर्ण अधिकार दिएको छ । यही कार्यतालिकाअनुसार अगाडि बढ्छौँ,” उनले भने । मंगलबारको पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन समितलाई मंसिरभित्र सकिनेगरी महाधिवेशनको कार्यतालिका बनाउन निर्देशन दिएका थिए ।

यसअघि कांग्रेसको १४औँ महाधिवेशन मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो । अर्कितर आन्तरिक विवादका कारण विभिन्न वडाको अधिवेशन रोकिएको छ ।