लागु औषध सहित ६ जनालाई पक्राउ

लागु औषध सहित ६ जनालाई पक्राउ
Spread the love

 

कञ्चनपुर, साउन २८ (ई-रैवार) 

प्रहरीले लागु औषध सहित ६ जनालाई पक्राउ गरेको छ। कञ्चनपुरको छुट्टाछुट्टै स्थानबाट मंगलबार प्रहरीले लागु औषध खैरोहिरोईन सहित ६ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जिल्लाको बेल्डाँडी गाउँपालिकाबाट एक र बेलौरी नगरपालिकाबाट पाँच गरी ६ जनालाई लागु औषध खैरोहिरोईन सहित पक्राउ गरिएको जानकारी दिए ।

प्रवक्ता प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीका अनुसार बेल्डाँडी गाउँपालिका वडा नम्बर २ को क्याम्पबाट३ ग्राम ९५ मिलिग्राम खैरोहिरोईन सहित वेदकोट नगरपालिका ३ का २० वर्षीय राकेश चौधरीलाई पक्राउ गरिएको हो । यस्तै बेलौरी नगरपालिका वडा नम्बर १० को सडकघाटबाट थप ५ जनालाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले बताएका छन ।

पक्राउ पर्नेमा म ३ प ७८३ नम्बरको मोटरसाईकल चालक सडकघाटकै २१ वर्षीय रमेश चौधरी, पछाडी सवार २३ वर्षीय रवि चौधरी रहेका छन् ।

शंका लागेपछि चेकजाँचका क्रममा दुवैजनाको साथबाट २ ग्राम २ सय ९० मिलिग्राम खैरोहिरोईन बरामद गरिएको छ । उनीहरुसँगै लागु औषधको ओसारपसारमा संलग्न थप ३ जनालाई पनि पक्राउ गरिएको छ ।

यसरी पक्राउ पर्नेमा कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ का आकाश भण्डारी, वडा नम्बर ४ का शंकर चौधरी र सोही ठाउँका रोशन सार्की रहेको प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले बताए । उनीहरु विरुद्ध लागु औषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।