नेपालमा मंगलबार थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्‍यु

Spread the love

काठमाडौँ, कात्तिक ९ (ई-रैवार)

नेपालमा मंगलबार थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७७१ पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २४९ एन्टिजेन परीक्षणमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७७, रुपन्देहीमा ५२, ललितपुरमा ३३, चितवनमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुरमा २५, कास्कीमा २३, मोरङमा १८, नुवाकोटमा १६, बाँकेमा १५, स्याङ्जामा १३, सुनसरीमा १२ तथा बागलुङ र अर्घाखाँचीमा १०/१० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ४ हजार ५१३ पुगेको छ ।  जसमध्ये ९ हजार ५१२ जना होम आइसोलेसनमा रहेका छन् भने ७८४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५२ जना आईसीयू र ८० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण आज थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ६२२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८८ हजार ६३० जना निको भएका छन्