काठमाण्डौँ, फागुन १४ (ईं-रैवार)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक दल कसको भन्ने टुंगो आउँदो फागुन २० गते लाग्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको विषयमा नेकपाका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनमा बिहीवार सुनुवाइ सकिएपछि फैसला मिति तोकिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्वामित्वलाई लिएर चलेको विवादमा सर्वोच्च अदालतले यही फागुन २० गते निर्णय सुनाउने भएको हो । सो विवादको सम्बन्धमा बिहीबार सुनुवाइ सकिएपछि न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने मिति तोकेको हो ।
नेकपाका अध्यक्ष कट्टेलले २०६९ सालमा नेकपा नामक पार्टी आफूले दर्ता गरेको तर पछि नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि २०७५ साल जेठ ३ गते निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नाममा निर्वाचन आयोगमा दर्ता गरेको विरुद्ध रिट दायर गरेका थिए ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण भएलगत्तै निर्वाचनमा नेकपाको नाममा दल दर्ता गरिएको थियो । सो भन्दाअघि नै आफूले उक्त नाममा दल दर्ता गरिसकेको उल्लेख गर्दै ऋषिराम कट्टेलले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम राखिएको उल्लेख गर्दै रिट निवेदनमा त्यसलाई खारेज गरी आफ्नो पार्टीलाई आधिकारिकता दिन माग गरिएको थियो । अध्यक्ष कट्टेलले २०७५ मंसिर २१ गते आयोगको उक्त निर्णयविरुद्ध रिट दायर गरेका थिए । उक्त रिटमा फैसला हुन लागेको हो ।


