सुदूरपश्चिम प्रदेशमा थप एक पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन

सुदूरपश्चिम प्रदेशमा थप एक पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन
Spread the love

अछाम, असोज २१ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा थप एक पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । अछामको कमलबजार नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा आएको हो ।

कमलबजार नगरपालिकाले करिब एक करोड खर्चेर स्थापना गरेको प्रयोगशालाको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञ बोगटीले प्रयोगशालको उद्घाटन गरेका हुन् ।

प्रयोगशाला सञ्चालनमा आएसँगै अछाम लगायत यस आसपासका जिल्लाका बासिन्दाले प्रत्यक्ष फाइदा लिने प्रतिनिधिसभा सदस्य बोगटीको भनाइ रहेको छ ।

प्रयोगशाला उद्घाटन गरिएसँगै बुधबार १७ जनाको नमुना परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

गत असोज १४ गते स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डाक्टर गुणराज अवस्थी सहितको टोलीले पीसीआर मेसिनको गुणस्तर तथा सञ्चालनको तयारी र अन्य प्राविधिक तयारीको बारेमा जानकारी लिएका थिए।

कमलबजार नगरपालिकाका नगरप्रमुख ओमप्रकाश बिष्टले  ५ लाखका स्वास्थ्य उपकरण समेत खरिद गरिएको र जिल्लाका अन्य स्थानीय तह तथा छिमेकी दैलेख जिल्लाका केही स्थानीय तहसंग समन्वय भइरहेको बताए। हालसम्म अछामकै ढकारी गाउँपालिकाले मेसिन स्थापनाका लागि ५ लाख सहयोग गरेको उनले बताए। हाल ५ जना कर्मचारी भर्ना गरेर मेसिन सञ्चालन भइरहेको छ।

यो सँगै सुदूरपश्चिममा पीसीआर परीक्षण प्रयोगशालाको संख्या ६ पुगेको छ । यसअघि कैलाली, डडेल्धुरा, डोटी, बैतडी र बझाङ्गमा प्रयोशाला स्थापना भइसकेका छन् ।