काठमाडौँ, असोज १८ (ई-रैवार)
राष्ट्रियसभाको बैठक आज बस्दै छ । राष्ट्रियसभाको दशौँ अधिवेशनको १२औँ बैठक आज बस्न लागेको हो ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका हुन ।
बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र अध्यादेश खारेजसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।
धानमन्त्री शेरबहादुर देउवाले ‘महालेखापरीक्षकको अन्ठाउन्नौँ वार्षिक प्रतिवेदन, २०७८’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ। यस्तै, विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नेछन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७८’ र ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७८’ पेस गर्नेछन्।
यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव, ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव, ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।


