मन्त्रिपरिषद् बैठक : सिग्देल सचिवमा बढुवा, यी हुन मन्त्रिपरिषद् बैठकका निर्णय

Spread the love

काठमाडौँ, असोज १४ (ई-रैवार)

सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणी (सचिव) मा बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहसचिव सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

तीन पटकसम्म बढुवाका लागि नाम सिफारिस भए पनि बढुवा नभएका सिग्देललाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई सचिवमा बढुवा गरेको हो । यसपटक भने वरिष्ठताका आधारमा सिग्देल एक्लैको नाम सिफारिस भएको थियो ।

सामान्यतः पहिलो नम्बरमा सिफारिस भएका कर्मचारीलाई सरकारले बढुवा गर्छ । तर, दुई महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरका सिग्देललाई छाडेर दोस्रो नम्बरमा सिफारिस भएका राजेन्द्रप्रसाद खनाललाई सचिवमा बढुवा गरेको थियो । खनाल गत शनिबार सेवा निवृत्त भएका थिए ।

यसपछि लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी संयोजकत्वको बढुवा सिफारिस समितिले सिग्देल एक्लैको नाम बढुवाका लागि सिफारिस गरेको थियो । समितिको सिफारिस अनुसारै मन्त्रिपरिषद्ले सिग्देललाई सचिवमा बढुवा गरेको हो ।

मन्त्रीपरिषद्को बैठकपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्विकृत दिने निर्णय समेत गरेको बताए । उनले सरकारले इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्विकृत दिने निर्णय गरेको समेत बताए ।

विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय पनि बैठकले गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री कार्कीले बताए ।

यस्तै, मन्त्रिपरिषद्ले विदेशी पदक प्राप्त गर्ने सूचीमा परेका पाँच नेपालीहरुलाई स्वीकृति दिएको छ । विभिन्न देशले प्रदान गर्ने पदक नेपाली नागरिकले प्राप्त गर्ने भएको अवस्थामा त्यस्तो पदक प्राप्तिका लागि सरकारले स्वीकृति दिनुपर्ने व्यवस्था छ । बैठकले संसदका विभिन्न समितिहरुले दिएका सुझावहरु माथि समेत छलफल गरी प्रस्ताव पारित गरेको छ ।