काठमाडौं : निर्वाचन आयोगको आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक जारी रहेको छ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाइएको हो ।
‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।
उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ । आयोगका अनुसार बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १७ दललाई निमन्त्रणा गरिएको हो ।
नेपाली कांग्रेसका रमेश लेखक, एमालेका तर्फबाट विष्णु रिमाल र निरज आचार्य डा. भीष्म अधिकारी तथा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल एवंं नेमकिपाका प्रेम सुवाल, नेपाली जनता दलका हरिचरण शाह तथा नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद रिजवान अन्सारीलगायतका नेता आयोगले बोलाएको बैठकमा सहभागी छन् ।
तर, एकीकृत समाजवादी, जनता समाजवादीलगायत दलका प्रतिनिधि भने आयोग पुगेका छैनन् । केही दलका प्रतिनिधिले भर्चुअल रुपमा सहभागी हुने जनाएको आयोगको भनाइ छ ।
आयोगले यही माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका बारेमा समेत दलहरुसँग छलफल गर्नेछ । स्थानीय तहमा पहिलो कार्यकाल पूरा हुन थाल्दा निर्वाचनको तयारी आयोगले थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।
निर्वाचन आयोगले गत पुस ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते स्थानीय तहको चुनावका विषयमा प्रस्ताव गरेपनि यस बारेमा सरकारले निर्णय गरेको छैन ।


