विराटनगर, असोज १ (ई-रैवार)
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताएका छन्।
विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्।
मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको पनि बताए।
अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न आग्रह गरिएको उनको भनाइ थियो। उनले मुलुकमा दीगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यक भएको बताए। साथै उनले एमसिसी विकास परियोजना भएकाले यसलाई राजनीतिकरण गर्न नहुने बताए।
बिहीबार नेकपा एमालेका अध्यक्ष ओलीलाई भेटेका कानूनमन्त्री कार्कीले बजेटसँगै महत्वपूर्ण अध्यादेशहरु पास गर्नुपर्ने भएकाले संसद सुचारु गर्नुपर्ने बताएका थिए । ओलीसँग आफ्नो लामो छलफल भएको भन्दै उनले भने, ‘संसद सुचारु गरौं । बजेट पास गरौं । अघिल्लो सरकारले ल्याएका धेरै महत्वपूर्ण अध्यादेशहरु छन्, त्यसलाई चाँडै पारित गरौं भनेर आग्रह गरेको छु ।’
एमालेले भने यथास्थितिमा ४ असोजका लागि बोलाइएको बैठकमा पनि अवरोध कायमै राख्ने बताएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएर २३ भदौयता संसदमा नाराबाजी गर्दै आएको छ ।
एमालेको नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी ऐन र बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भयो । तर ३० भदौभित्र प्रतिस्थापन विधेयक पास नभएका कारण सरकारले खर्च गर्न नपाउने अवस्था आएको छ ।
संसदको अवरोध हटाउने प्रयासमा सभामुखले सर्वदलीय बैठक बोलाएका थिए, तर एमाले सहभागी नै भएन । यद्यपि सत्तापक्षसँग सम्वाद गर्न भने आफूहरु तयार रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘त्यसअनुसार कुराकानी भइरहन्छ, तर मुद्दामा कुनै प्रगति भएको छैन,’ उनले भने ।


