सात जिल्लामा तोकिए कांग्रेसका निर्वाचन अधिकृत

Spread the love

काठमाडौं, असोज १ (ई-रैवार)

नेपाली कांग्रेस निर्वाचन समितिले थप सात जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । अधिवेशन हुन बाँकी २० मध्ये काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा निर्वाचन अधिकृत तोकिएको हो ।

निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतहरूले क्रियाशील सदस्यता सूची तथा अधिवेशनका लागि आवश्यक सामग्री बुझिसकेका छन् ।

श्रेष्ठका अनुसार काठमाडौं जिल्लाको अधिवेशन गराउने जिम्मेवारी वरिष्ठ अधिवक्ता नरहरि आचार्यलाई दिइएको छ । यस्तै, मोरङमा केदार कार्की निर्वाचन अधिकृत बनेका छन् । काभ्रेपलाञ्चोकमा राजेन्द्र लामिछाने, सिन्धुपाल्चोकमा छविरमण निरौला तथा बाजुरामा सन्तोष भण्डारीले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् ।

बर्दियामा लोकबहादुर शाह र कपिलवस्तुमा घनश्याम पन्त निर्वाचन अधिकृतको रूपमा जिल्ला प्रस्थान गरेको समिति सचिव जगन्नाथ श्रेष्ठले बताए ।

यसअघि, गएको भदौ १८ गतेदेखि ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । २० जिल्लाको क्रियाशील सदस्यतासम्बन्धी विवाद पार्टीले टुंगोमा पुर्‍याउन नसक्दा वडा अधिवेशन सुरु हुन सकेको छैन ।

क्रियाशील विवाद समाधान कार्यदलले हालसम्म १० जिल्लाको मात्र विवाद टुंगोमा पुर्‍याउन सफल भएको छ । कार्यतालिका अनुसार वडा अधिवेशन गर्न बाँकी रहेका २० जिल्लाको अधिवेशन असोज ५ मा गर्नुपर्नेछ ।