गौरीगंगा नगरपालिकाको कार्यालयमा पाँच दलीय गठबन्धनले गर्‍यो तालाबन्दी

Spread the love

धनगढी, भदौ २८ (ई-रैवार)

कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । गौरीगंगा नगरपालिकाको कार्यालयमा पाँच दलीय गठबन्धनले आफूूहरुले उठाएका ६ बुँदे माग सम्बोधन गर्न नगरपालिकाले कुनै तदारुकता नदेखाएको भन्दै तालाबन्दी गरेको हो ।

गत भदौ ५ गते पाँचवटै दलले संयुक्त गठबन्धनकातर्फबाट ज्ञापनपत्र बुझाउँदै ६ बुँदे माग अघि सारेका थिए । गौरीगंगा नगरपालिकाको कार्यालयमा पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले सोमबार तालाबन्दी गरेका हुन् ।

पाँच दलीय गठबन्धनले नदीजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीको हिसाब माग, विद्यालयमा विषयगत शिक्षक पदपूर्ति गर्ने, नगरपालिकाको बेरुजु फर्चौट गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेका छन् ।

अनियमित तरिकाले रोयल्टी संकलन गरेको, आवश्यकता भन्दा बढी करारमा राखिएका कर्मचारीलाई हटाउनुपर्ने लगायतका माग राख्दै तालाबन्दी गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति दिनेश जोशीले जानकारी दिए । ‘आर्थिक अनियमितता र भ्रष्टाचारजन्य बेतिथिविरुद्धको आन्दोलनमा हामी छौं,’ उनले भने, ‘हामीले उठाएका माग सम्बोधन नभएसम्म ताला खोल्दैनौं । भ्रष्टाचार विरुद्धको संयुक्त अभियान जारी राख्छौं ।’

यस्तै उनीहरूले नगर प्रमुखबाट व्यक्तिगत मनोमानी कार्य सञ्चालन भइरहेकाले संयुक्त रुपमा विरोध प्रदर्शन समेत गरेका हुन् । विरोध प्रदर्शनमा बोल्दै जनता समाजवादी पार्टीका राजेन्द्रप्रसाद देवकोटाले राजनीति दलहरूले नगरपालिका भित्र भइरहेको नगर प्रमुखबाट व्यक्तिगत मनोमानी कार्य सञ्चालन भइरहेकाले बताए।