माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि बस्दै

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि बस्दै
Spread the love

काठमाडौँ, साउन ३० (ई-रैवार) 

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बत्तीसपुतलीको एउटा होटलमा बस्ने लागेको हो ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् ।

देशको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले बताएका छन् ।

माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने भएको छ। सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।

सरकारलाई सफल बनाउनका लागि अवको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष दाहालले निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘यो चार महिनाको अवधिमा राजनीतिक रुपमा बाम–लोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरु सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्ति विरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढन अध्यक्ष कमरेडले निर्देशन दिनु भएको छ,’ उनले भने।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको कार्यदिशामा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरुको मोर्चा बनाउन पहल गर्ने गरी अध्यक्ष दाहालको राजनीतिक तथा सांगठानिक प्रतिवेदन  आउनेछ।