नेपालमा काेराेना संक्रमण बढ्यो, बितेको २४ घण्टामा मात्रै ४१ सय बढीमा संक्रमण पुष्टि

Spread the love

काठमाडौँ, साउन २१ (ई-रैवार)

केही दिनयता नेपालमा कोभिड–१९ बाट संक्रमितको हुनेको संख्या ह्वात्तै बढ्न थालेको छ । अघिल्लो दिनसम्म तीन हजारको हाराहारीमा रहेको कोभिड संक्रमण बुधबार अप्रत्यासित रूपमा बढ्दा संक्रमित हुनेको संख्या चार हजार नाघेको छ ।

कोरोना संक्रमितको संख्या अप्रत्यासित रूपमा बढ्न थालेपछि सम्बन्धित विज्ञहरूले यसलाई कोभिड–१९ को तेस्रो लहरको सुरुवात भएको बताएका छन् । उनीहरूले खोपलाई प्राथमिकताका साथ अघि बढाउन सुझाव दिँदै जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

बितेको २४ घण्टामा मात्रै ४१ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा  ११३२ जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ । दुबै विधिबाट  १६ हजार २९८ जनाको परीक्षण भएकोमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त हुँदा  मृत्यु ३५ जनाको मृत्यु भएको छ । हालसम्म झन्डै ४० लाख जनामा कोरोना परीक्षण भएकामा ७ लाख ६७ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ६१ हजार ६५१ जना निको भएका छन् ।

यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ । यसअघि मंगलबार देशभर ३३८३ जनामा संक्रमण पुष्टि भएको थियो भने २४ जनाको मृत्यु भएको थियो ।